काठमाडौ १९ असार । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले माओवादीलाई हराउन अरुसँग मिलेको आरोप लगाएको छ ।
आइतबार बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिम्खडाले कांग्रेस गठबन्धनमा इमान्दार नभएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
आगामी दिनमा कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाँदा सोच्नुपर्ने भन्दै कांग्रेसले माओवादीलाई हराउन अरुसँग मिलेको आरोप लगाएका हुन् ।
अध्यक्ष सिम्खडाले भने,‘कांग्रेसको मत इमान्दार छैन,कांग्रेस हामीलाई हराउन सबैसँग मिल्यो । त्यसकारण कांग्रेसँगको गठबन्धनबारे गम्भीररूपमा सोच्नुपर्छ ।’
उनले अहिले माओवादीले उपत्यकामा एउटा वडा जित्दा पनि गौरव गर्नुपर्ने अवस्था आएको भन्दै मधेस र राजधानीमा पार्टी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको मूल्यांकन पद्धति पनि निकै नराम्रो दिशामा गएको समिक्षा गरेका उनले गठबन्धन भनेर भर नगरी कल रूपमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।