काठमाडौं १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले गठवन्धनप्रति इमान्दार देखाएको बताएका छन् ।
आज आइतबार देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदन पेश गर्दै कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको बताएका छन् ।
साथै,प्रस्तावमा उनले जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक रहेको पनि बताएका छन् ।
कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागेको प्रचण्डको आरोप रहेको छ ।
‘यी तमाम कारणहरुका बाबजुद विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक मान्नुपर्छ ।’ प्रचण्डले भने ।
नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिएको बताएका प्रचण्डले आफ्नो पार्टी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गरेको बताए ।
आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ’ प्रचण्डले भने ।