काठमाडौं १८ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको बागमती प्रदेश संसदीय दलको बैठकले गठबन्धनको सहमतिका आधारमा प्रदेश सरकार बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।
केन्द्रीय गठबन्धनले गरेको फैसला मान्य हुने भन्दै तलका हल्लाले केही फरक नपर्ने संसदीय दलका उपनेता कृष्ण खनालले बताएका छन् । खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’
नियमित प्रकिया अन्तर्गत संसदीय दलको वैठक बसेको बताएका उनले आजको बैठकमा मुख्यमन्त्रीको राजीनामाको विषयमा छलफल हुने कार्य तालिका नै नभएको बताएका छन् ।
केन्द्रीय नेताहरुको सहमतिबाटै सरकारको नेतृत्व फेरिने हो । यो बागमती मात्र नभएर सातै प्रदेशको कुरा हो । हामीले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउँछ । त्यसैले आजको बैठकमा सो विषयमा छलफल भएन । शीर्ष नेताको निर्णय नै अन्तिम हुनेछ ।’ उनले भने ।
साथै, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पनि वागमती प्रदेशमा मात्रै मुख्यमन्त्री परिवर्तन हुननसक्ने बताएका छन् ।