काठमाडौं १७ असार । नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ । आफ्नो माग सुनुवाई नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।
एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै
शर्माको राजीनामा माग गर्दै आएको छ ।
आज शुक्रबार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनाएको हो ।
अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएलगत्तै श्रेष्ठले आफ्नो माग पुरा नभए शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय भएको भन्दै एमाले सांसदहरु बैठक हलबाट बाहिर निस्किएका हुन् ।
एमालेले बैठक बष्हिकार गरेपनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए र अहिले राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल जारी छ ।