काठमाडौं १६ असार । नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबचि भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न बिहीबार बिहान बालकोट पुगेका गौतम र ओलीबिच वाम शक्तिबीच पार्टी एकीकरण र चुनावी गठबन्धनलगायत विषयमा छलफल भएको हो ।
भेटमा विगतका कमजोरी खोतल्नेतिर नलागी प्रचण्ड र माधव नेपाललाई समेत साथ लिएर फेरि कम्युनिष्ट एकता गर्न ओलीलाई आग्रह गरेका छन् ।
जवाफमा ओलीले मुलुकमा बाम गठबन्धनको आवश्यकता देखिएको भन्दै पहल गर्न गौतमलाई आग्रह गरेको समेत बुझिएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग गरेसँगै तत्कालीन नेकपा स्वतः विघटन भएपछि राजनीतिक रुपमा तटस्थ रहँदै आएका गौतमले मंगलबार पत्रकार सम्मेलन गरी आफूले बाम दलबीचको एकीकरणका लागि पहल लिने बताएका थिए ।