काठमाडौं १२ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिट्टै पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको केन्द्र्रीय कमिटीको बैठकमा सहभागी भएका अध्यक्ष नेपालले आज सम्म मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् ।
‘मन्त्रिपरिषद्को पुनर्गठन हुनेछ । छिटोभन्दा छिटो हुनेछ । आशा गरौँ, आजै हुनेछ । हाम्रो पार्टीको निर्णय लागु हुनेछ भन्ने आशा र विश्वास गर्दछु,’ उनले भने ।
आफ्ना पार्टीबाट सरकारमा गएका केहि मन्त्रीको राजीनामा गोजीमा बोकेर हिँडेको बताएका नेपालले पार्टीको निर्णय नै पर्याप्त भएको बताएका छन् ।
‘केही मन्त्रीहरूले मलाई राजीनामापत्र दिनुभएको छ । पार्टीले कहिले बाहिर ल्याउने हो त्यो ल्याइयोस् भन्नुभएको छ । त्यो म गोजीमा लिएर हिँडिरहेको छु, अरू मन्त्रीहरूले पनि राजीनामापत्र पठाउनुहुनेछ । राजीनामा पनि चाहिँदैन । पार्टीको निर्णय नै पर्याप्त छ । त्यो चाँडै लागु होस् ।’नेपालले भने ।
पार्टीले सरकारबाट फिर्ता बोलाएपछि मन्त्रीहरु भने अशन्तुष्ट हुँदै आएका छन् ।