काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताउनुभएको छ ।नेपाल पर्वतारोहण सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले देशलाई नयाँ युगतिर लैजानका लागि आफू फेरि एक पटक प्रधानमन्त्री हुने सपना रहेको बताउनुभएको हो । उहाँले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताउनुभयो ।
उहाँले आफू प्रधानमन्त्री हुँदा धेरै चीज सुधार गर्ने प्रयास गरेको भन्दै त्यसमा गर्व महसुस हुने गरेको बताउनुभयो । राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि उहाँको भनाइ थियो ।
वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उहाँको भनाइ थियो ।
उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई टार्नका लागि पर्यटक क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको उल्लेख गर्नुभयो ।