नेपाली राजनितीमा प्रभावशाली मानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले एक अर्का प्रति कटाक्ष चलिरहेको छ । यसै सिलसिलामा अध्यक्ष ओलीले नेकपा बिभाजनको प्रमुख कारक प्रचण्ड रहेको आरोप लगाएका छन् । दाहाल इमान्दार नभएकाले नै नेकपा विभाजन भएको आरोप उनको रहेको छ ।
अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको आरोप लगाए । शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले धेरै दुःख र मेहनतका बलमा स्थापित गराएको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको पनि धारणा ब्यक्त गरे ।
पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरेपनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो । उनले आफुहरुले प्रचण्डलाई लखेटेको नभई आफ्नै बेइमानीले निस्किएर गएको जिकिर गरे ।