काठमाडौं ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह चुनावमा आफूहरूले अपेक्षा गरेभन्दा कम सिट जिते पनि तेस्रो निर्णायक शक्तिका रूपमा रहेको बताएका छन् ।
बिहिबार ललितपुरमा आयोजित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । देशको राजनीतिक धारालाई कता लैजाने भन्ने जिम्मा जनताले आफूहरूलाई दिएको जिकिर गरेका उनले चाबी जनताले माओवादी केन्द्रलाई नै दिएको बताए ।
‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी हामीलाई जनताले दिएका छन् । ‘ प्रचण्डले भने ।
निर्वाचनमा १२२ सिट आएको बुर्जुवा र प्रतिक्रियावादीहरूले जिब्रो टोकेको भन्दै उनले गठबन्धन ठीक ढंगले जाँदा र पार्टीले पनि मेहनत गर्दा १७० देखि १७५ सम्म आउँने आकल्न गरेपनि त्यो नआएको बताए ।
‘हामी वामपन्थी आन्दोलनको पहिलो पार्टी हुन्छौँ र देशको दोस्रो पार्टी बन्छ भन्ने आकलन गरेका थियौँ । तर हामी १२२ सिटमा सीमित भएका छौँ’ उनले भने । माओवादी केन्द्रका लागि मुख्य कुरा निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु रहेको प्रचण्डले बताए ।