भरतपुर ८ असार । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल भएको बताएकी छन् ।
बुधबार भरतपुर वडा नं ७ मध्यविन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा सहभागी भएकी उनले भरतपुरवासीहरूको चाहना तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षाका लागि मैदानमा उत्रिसकेको बताएकी हुन् ।
‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी उनले भनिन्, ‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’
विकासका लागि महत्त्वकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको बताएकी उनले दोस्रो कार्यकालका लागि निर्वाचनको मतपरिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेलसँग कुराकानी समेत भएको बताएकी छन् ।