काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका छोराले नै सरकारी गाडीमा तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूका छोरा ज्योति गच्छदारले बाबस
ले चढ्ने सरकारी गाडी तोडफोड गरेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष समेत रहेका बाबुको निर्णयमा चित्त नबुझेको भन्दै छोराले गाडीमा तोडफोड गरेको बताइएको छ । स्रोतका अनुसार एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा यस्तो विबाद निम्तिएको हो ।
गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको अवस्थामा ज्योतिले एक्कासी तोडफोड सुरु गरेका हुन् ।नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए ।
तर, छोराले भने त्यसरी जिम्मेवारी दिनु नहुने भन्दै बाबु विरुद्ध उत्रिएपछि यस्तो समस्या आइपरेको हो । गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारूले गाडी तोडफोड भएको विषयमा अध्यक्षलाई नै सोध्न आग्रह गरिन् । अध्यक्षले भने गाडीको सिसा पहिल्यै चर्केकोले झरेको बताए ।