हेटौंडा ७ असार । हेटौंडा उपमहानगरपालिकाका एमाले जनप्रतिनिधिले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।
एमालेको बहुमत रहेको हेटौंडामा आज मंगलबार बसेको बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राख्दै माग पूरा नहुने भएपछि जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका हुन् ।
बैठकमा एमालेका जनप्रतिनिधिले बैठक सञ्चालन कार्यविधि- २०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राखेका थिए । यस विषयमा मेयर तथा उपमेयरले चासो नदेखाएपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।
एमालेको बहुमत कार्यपालिका सदस्य बाहिर हुँदा समेत बैठक सञ्चालन गरेर जनमतको भावानाविपरीत काम गरेको आरोप जनप्रतिनिधिले लगाएका छन् ।
आफ्नो मागलाई सम्बोधन गर्ने पक्षमा नभएको भन्दै पेलेर जाने पक्षमा भएको आरोप लगाएका उनीहरुले विषयगत समिति निर्माण गरेर बजेट निर्माण गरौँ भन्दा अहिले बेला घर्कियो भनेर आलटालले यो नगरको हितमा नभएको बताएका छन् ।