दमौली, ६ असार -जिल्लामा दुई पालिका जोड्ने गरी निर्माण सुरु भएको झोलुङ्गे पुल सम्पन्न भएको छ । व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँगेखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । दुई पालिकाको लगानी, झोलुङ्गे पुल कार्यक्रम, स्थानीयवासीको श्रमदान, गैरसहकारी संस्था समन्वय समितिको प्राविधिक सहयोगमा उक्त ठाउँमा पुल निर्माण भएको हो । रु ४३ लाख दश हजार ६१ को लागतमा पुल निर्माण सकिएको समन्वय समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।
पुल निर्माणका लागि पालिकाबाट रु पाँच लाख ६२ हजार ३५९, झोलुङ्गे पुल कार्यक्रमबाट रु ३६ लाख ६३ हजार ५५० लगानी गरेका छन् भने स्थानीवासीले रु ८४ हजार १४९ बराबरको श्रमदान गरेका छन् । पुल निर्माणका लागि विसं २०७८ पुस ८ गते उपभोक्ता समितिसँग सम्झौता भएको थियो । निर्माण कार्य भने फागुन १३ गतेबाट सुरु भएको थियो । ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि ७२ घरधुरीका ४३४ लाभान्वित भएका छन् ।
यहाँ पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि अब यहाँका स्थानीयवासीलाई सहजरुपमा आवतजावत गर्न सहज हुने भएको छ ।