काठमाडौं :
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका छन् । शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै थाापाले यस्तो बताएका हुन् ।
कांग्रेस महामन्त्री समेत रहेका नेता थापाले अन्तर्वार्तामा बोल्दै आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताए । आगामी निर्वाचनबाट लामो समयदेखि प्रधानमन्त्रीको कुर्चीमा बसिरहेका व्यक्तिहरुलाई सम्मानजनक बिदा गरेर आफूहरु नेतृत्वको लागि अघि आउने तयारी गरिरहेको थापाले बताए ।
पूर्वप्रधानमन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको छ । यो चुनावपछाडि कोही पनि व्यक्ति जुनसुकै पार्टीको होस् उहाँहरु कोही पनि नेपाललाई प्रधानमन्त्री भइदिएर गुन लगाइदिनुपर्ने कारण नभएको उनले बताए ।
कांग्रेस माओवादीको संयुक्त सरकार रहेका बेला स्वास्थ्यमन्त्रीको रुपमा समेत काम गरिसकेका थापा आफुहरुको नँया पुस्तालाई एक पटक मौका दिनु पर्ने बताएका छन् ।