काठमाडौं ४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ओली नेतृत्वको सरकारकै पालामा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाइएको जिकिर गरेका छन् ।
ललितपुरको पाटनढोकामा शनिबार कांग्रेसको शुभेच्छुक संगठन नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले यस्तो जिकिर गरेका हुन् ।
एमालेले संसदमा कांग्रेसमाथि आक्षेप लगाएको २४ घण्टा नबित्दै ओली नेतृत्वकै सरकारले एसपीपी अघि बढाएको खुलासा भएको बताएका उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी अघि नबढाउने स्पष्ट पारिसकेको दावी समेत गरेका छन् ।
नेपालको सार्वभौमिकतालाई, भूराजनीतिक संवेदनशीलतालाई हेक्का नराखी यो प्रकारको कुनै पनि सन्धि, सम्झौतामा नेपाल देशले हस्ताक्षर नगर्ने दावी गरेका उनले भने ,
‘प्रधानमन्त्री देउवाले प्रष्ट रुपमा भनिसक्नु भएको छ। नेपालको सार्वभौमिकतालाई, भूराजनीतिक संवेदनशीलतालाई हेक्का नराखी यो प्रकारको कुनै पनि सन्धि, सम्झौतामा नेपाल देशले हस्ताक्षर गर्दैन। हामी यसमा सहमत हुँदैनौं। सहभागी हुँदैनौं। त्यो आफ्नो ठाउँमा छ भनिसक्नुभएको छ ।’