काठमाडौं ४ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचार राजनीतिक नेतृत्वलाई थाहा नभएको बताएका छन् ।
प्रधानमन्त्री र अरु राजनीतिक नेतृत्वलाई जानकारी नदिई नेपाली सेनाले पत्राचार गरेको बताएका उनले सेनाले एसपीपीमा सहभागी हुने विषयमा रक्षा मन्त्रालयसँग राय मागेको र रक्षा मन्त्रालयले पनि नबुझीकन अनुमति दिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले भने, ‘रक्षा मन्त्रालयको प्रतिनिधि पनि राखेर अगाडि बढाउनू भनेर रक्षाले पत्र पठाएको देखिन्छ । यस्ता कुरामा परराष्ट्र मन्त्रालयको राय लिने वा कानुन मन्त्रालयको राय लिने गरेको देखिएन ।’
उनले २०७२ सालमा नयाँ संविधान बनेर सरकार परिवर्तन हुने वित्तिकैको संक्रमणको अवस्थामा सेनाले राजनीतिक नेतृत्वलाई थाहा नदिई पत्राचार गरेको समेत उनको दावी रहेको छ ।