काठमाडौं ४ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशभक्तको झण्डा उठाउन आफूहरु कहिले नछाड्ने बताएका छन् ।
शनिबार युवा विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)ले गहिरो प्रश्न खडा गरेको भन्दै यस्तो बताएका हुन् । ‘हामीले अब प्रधानमन्त्रीसँग छलफल गरौं र राष्ट्रिय अन्योल चिरेर सत्यतथ्य जनताको माझमा ल्याऔं भनेका छौं।’नेपालले भने ।
एसपीपीको यथार्थ कुरा बाहिर ल्याउनपर्ने बताएका उनले अब प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय अन्योल चिरेर सत्यतथ्य जनताको माझमा ल्याउन भनेको बताएका छन् । ‘हामीले प्रधानसेनापतिसँग बुझ्न चाह्यौं। उहाँले पनि नेपालको भू-संवेदनशीलतालाई बेवस्ता गरेर कुनैपनि सम्झौता गर्दैनौं भनेपनि विश्वस्त भएका छौं।’ उनले भने।
देभक्तिको र राष्ट्रियताको भावनालाई जति संवेदनशील रुपमा हेर्नुपर्ने थियो, यी कुरामा समस्या देखा परेको बताएका उनले भने, ‘समस्या केही व्यक्तिमा देखा परे पनि सिंगो जनमानस, कम्यु्निस्ट घटक र देशभक्त शक्ति जुर्मुराएर उठे। त्यसपछि नेपाली देशभक्तिको भावनाले पूर्णता पायो।’
कम्युनिस्ट पार्टीभित्र दक्षीणपन्थी प्रवृत्ति देखेपछि देशभक्तिको भावनामा आँच आउन थालेको नेपालको ठम्याई रहेको छ ।