काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भयो । संसद्मा सांसदहरूले प्रधानमन्त्रीको खोजी गरिरहे तर उनी संसद्मा नगएर बाहिरी कार्यक्रममा नै व्यस्त भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि प्रधानमन्त्रीको खोजी गरिएको हो । संसद्मा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री किन संसद्मा उपस्थित नभएको हो भन्ने प्रश्न गरे । ‘यो संसद्मा प्रधानमन्त्री किन उपस्थित हुन सक्नुभएन ?,’ उनले प्रश्न गरे, ‘बिरामी हुनुहुन्छ कि कुनै अस्पताल भर्ना हुनुभएको हो कि ? विदेश जानुभएको हो कि ?’
प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीअनुसार संसद्मा जवाफ दिनुपर्ने बताए । ‘बिरामी र विदेश गएको हो भने संसद्लाई जानकारी हुनुपर्छ,’ उनले भने, ‘विनाजानकारी प्रधानमन्त्री अनुपस्थित हुनुभएको छ । यो मिल्दैन ।’ पहिले पनि प्रधानमन्त्रीले अर्को मन्त्रीलाई जवाफ दिन लगाएको र प्रश्न उठेपछि प्रधानमन्त्री नै आएर जवाफ दिएको पनि उनले बताए । ‘प्रधानमन्त्रीलाई नै आफ्नो जिम्मेवारीअनुसार जवाफ दिन लगाउनुपर्छ । होइन भने के कारणले आउन सक्नुभएन ?,’ उनले भने, ‘विदेश जानुभएको भए यहाँ अर्को मन्त्रीले बोल्न पाउनुहुन्छ ।’
यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीबाट संसद्मा पत्र पठाएर जानकारी दिएको बताएका थिए । प्रधानमन्त्री देउवा एनआरएनएको ‘गैरआवासीय नेपाली नागरिकता’लगायत विषयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले दिएको स्पष्टीकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चित्त बुझाएको थिएन । बिहीबारको संसद् बैठकमा भने अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’दयगत प्रतिपक्षीसँगै सत्तारूढ सांसदले पनि प्रश्न उठाएका थिए। उनीहरूले प्रधानमन्त्री देउवाको जवाफ खोजेका थिए ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।