काठमाडौं २ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा भएको देखिएको बताएका छन् ।
बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्धका सहीद रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
एसपीपी सैनिक सम्झौता हुँदैछ भनेर गरिएको प्रचार गलत भएको बताएका प्रचण्डले भने, ‘त्यस्तो कुनै सम्झौता भएको छैन, त्यस्तो कुनै सम्झौता हुने छैन भनेर म यहाँबाट घोषणा गर्न चाहन्छु, एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु २०१९ मै केपी शर्मा ओलीकै सरकारका पालामा भएको तथ्यहरू बाहिर आएको छ’ ।
केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा भएको बताएका प्रचण्डले यस्तो कुरा सबैले बुझ्नुपर्ने बताएका छन् ।
प्रचण्डले भने, ‘केपी ओलीले उक्त सम्झौता गरिसकेको तथ्य इतिहासमा छ, यो कुरा हामीले बुझ्नुपर्छ । यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । हामी नेपालको राष्ट्रिय स्वाधिनता र नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौँ ।’
यस विषयमा सत्तारुढ दलहरुमा कुनै सहमति नभएको पनि स्पष्ट पारेका छन् ।