दाङ :
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । परिक्षणका क्रममा उनलाई डिप्रेसनको लक्षण देखिएको बताइएको छ । गएराति दाङबाट बुटवल लैजादै गर्दा धेरैजसो समय उनले ‘एकराज खोई ?’ भन्दै बर्बराएको बताइएको छ ।
स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएर उपचार सुरु गरिएको थियो । अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने एपनि वलीले नमानेको बताइएको छ । विमलामा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ ।
डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर ईन्द्र ढकालले बताए । विमला अहिले प्रदेश सांसद दामा शर्माको साथमा बुटवलस्थित आफ्नै डेरामा बसेकी छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि वलीलाई अस्पताल भर्ना गरिएको हो । उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् ।