काठमाडौं १ असार । नेकपा एमालेका महासचिव तथा लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेलले बहालवाला मन्त्री नै साथमा सर्वसाधारण व्यक्तिको घरमा घुसेर कुटपिट, तोडफोड गर्दा पनि सरकार यस विषयमा मौन बसेको भन्दै आपत्ती जनाएका छन् ।
बुधबार बुटवलमा पत्रकारहरूसँगको भेटमा पोखरेलले बहालवाला मन्त्री आफ्ना सुरक्षाकर्मीको साथमा सर्वसाधारण व्यक्तिको घरमा पुगेर अभद्र व्यवहारमा गरेको दुई तिबिसक्दा पनि सरकारको यस विषयमा आधिकारिक धारणा नआउनु गम्भीर विषय भएको बताएका हुन् ।
‘मौन बस्नु नै यस्ता गलत कामलाई ढाकछोप गर्ने रणनीति बनाउनका लागि हो, यो सामान्य विषय होइन, आमनागरिकले सबै बुझिसक्दा समेत सरकारले लुकाउन खोज्नु आफैंमा रहस्यमय छ’, पोखरेलले भने ।
यथपी , नेकपा एमाले लुम्बिनीले भने हिजो मंगलबार नै महिला र बालिकामाथि हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बर्खास्त गर्न माग गरेको थियो।
संसदीय दलका उपनेता बैजनाथ चौधरीले पनि प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीलाई नैतिकताको आधारमा वलीलाई मंगलबार बाट नै बर्खास्त गर्न आग्रह गरेका थिए ।