बाढीले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो ,१३ वर्षीय बालक अझै फेला परेनन् — OSNepal

बाढीले बगाएर बेपत्ता भएकी महिलाको शव भेटियो ,१३ वर्षीय बालक अझै फेला परेनन्

LC (KTM) June 16, 2021 0

मार्तडी, २ असार – लगातार अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी बूढीनन्दा नगरपालिका–३ लौठीरुखकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकामा रहेको बड्डीगाड खोलाले बगाउँदा सोही नगरपालिका–३ की मोतीकला ल्वारको शव करिब २० किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनदेव साउदले   जानकारी दिनुभयो ।

बेपत्ता महिलाको स्थानीयवासी र प्रहरीले खोजी गर्दा बड्डीगाड खोलाको कालसिलमा फेला पारेको प्रहरी निरीक्षक साउदले बताउनुभयो । महिलाको शव कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा परीक्षण गरी आफन्तलाई बुझाइएको उहाँले बताउनुभयो ।

सोमबार त्रिवेणी नगरपालिका–५ किम्नीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन् । गाउँ नजिकै रहेको किम्नीखोलाले बगाउँदा बेपत्ता भएका बालकको प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको प्रहरी निरीक्षक साउदले बताउनुभयो । घटनास्थलमा प्रहरीको टोली र स्थानीयवासीले खोजी गरिरहेका छन् तर अहिलेसम्म पनि बालकको शव फेला परेको छैन । जिल्लामा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । वर्षाका कारण राजमार्ग सडक र ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर