निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गुण्डाका नाईके समीरमानसिंह लाई कारागार भित्रै भेट्न पुगेका डीएसपी मिलन केसी माथि छानबिन सुरु भएको छ । डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको थाहा भए पछि सबै तिर चर्चा चुलिएको थियो । यस विषयमा छानबिन सुरु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले बताए। छानबिनका लागि एसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भईसकेको छ ।
उनी किन त्यहाँ गएका थिए भन्ने अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए। विषयमा कुरा गर्न सम्पर्क गर्न खोज्दा डीएसपी केसीले भने फोन उठाएनन्। समीरमानलाई भेट्न डीएसपी केसी अर्का गुण्डा नाइके अमृत केसीलाई लिएर कारागार पुगेको खुलेको छ। गौचन हत्याका मुख्य योजनाकार बस्नेतले कारागारभित्रै रहँदा पनि आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ। यसअघि पनि सुन्धारा कारागारमा आपराधिक पृष्ठभूमिका व्यक्ति पटक–पटक बस्नेतलाई भेट्न पुगेको पाइएको थियो।