काठमाडौ ३१ जेठ । जनक शिक्षा सामग्री केन्द्रको बचाउमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लागि परेका छन् ।
मंगलबार बसेको संसद बैठकमा जनक शिक्षा सामग्री केन्द्रले समयमा नै पाठ्यपुस्तक छपाईको जिम्मेवारी पुरा नगरेको भन्दै प्रश्न उठेपछि शिक्षा मन्त्री पौडेल जनक शिक्षा सामग्री केन्द्रको बचाउमा उत्रिएका हुन् ।
पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाउने तर समयमा कहिल्यै पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुर्याउने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्ने संसदमा धारणा राखेपछि उनले नक शिक्षा सामग्री केन्द्र खारेज गर्ने विषयले आफुलाई दुखी बनाएको बताएका छन् ।
मन्त्री पौडेलले भने, ‘निस्शुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निस्शुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १-३ को निजी प्रकाशनबाट र कक्षा ४-१२ को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था गरिएको छ ।’
जनक शिक्षा सरकारको स्वायत्त निकाय भएको बताएका उनले यसलाई सुदृढ बनाउन सांसदहरूले पनि भूमिका खेल्नुपर्ने बताएका छन् ।
‘राज्यको तर्फबाट त्यसलाई सबल, बलियो, राम्रो बनाउनु, सुदृढ गर्नु हामी सबैको साझा दायित्व हो । त्यसकारण त्यसलाई खारेज गर्ने होइन असक्षमता कार्यसम्पादनमा त्रुटि छ भने सबल बनाउनका निम्ती आवश्यक सहयोग गर्ने, परिमार्जन गर्ने, प्रविधियुक्त गर्ने र व्यवस्थगित गर्ने कुरा हाम्रो दायित्वको कुरा हो,’ उनले भने ।
साथै, उनले पाठ्यपुस्तक छपाइमा ढिलाइ हुनुमा जनक शिक्षाका कर्मचारी निर्वाचनमा प्रयोग गरिनु भएको बताएका उनले भने, ‘म आफैं जनक शिक्षामा पाँच पटक पुगेको छु । समयमा नै पाठ्यपुस्तक पुर्याउनुपर्छ भनेर हामीले अहोरात्र ध्यान दियौं तर दुर्भाग्य कागजको आपूर्ति समयमा हुन सकेन,जनक शिक्षा समग्रीका कर्मचारी पनि चुनावमा जानुपर्ने बाध्यता भयो । १५ दिन पाठ्यपुस्तक पुर्याउन ढिला भयो ।’