काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाले भने बमोजिम उपत्यका क्षेत्र भित्र पुर्वाधार एम्बुलेन्स संचालनमा आएको छ । महानगरपालिकाले सोमबारबाट पुर्वाधार एम्बुलेन्स सेवा सुचारु गरेको हो । बालेनले आफ्नो प्रतिबद्धता अनुसार सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न महानगरले यस्तो सेवा संचालनमा ल्याएको हो ।
एम्बुलेन्समा पूर्वाधारको मर्मतका लागि इञ्जिनियर वा प्राविधिक रहन्छन्। उनीहरूले आफूलाई चाहिने अत्यावश्यक उपकरण सँगै बोकेका हुन्छन्। पूर्वाधार एम्बुलेन्समा एक इञ्जिनियरसहित चार जना मजदुरको टोली रहन्छ। महानगरले दुइटा एम्बुलेन्स तयारी अवस्थामा राखे पनि पहिलो चरणमा एउटा मात्र सञ्चालनमा ल्याएको छ। पूर्वाधार एम्बुलेन्स सोमबारबाट सञ्चालनमा आएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाले जानकारी दिए।
यतिमात्र हैन अर्काे रोचक कुरा के छ भने महानगरले र्ससाधरणहरुका गुनासो सुन्नको लागि कल सेन्टर सुचारु गरेको हो । सेन्टरमा सर्वसाधारणबाट आएका गुनासाका आधारमा आकस्मिक मर्मतसम्भार गर्न थालिने गरिएको बताए ।महानगरको कल सेन्टर सेवा र पूर्वाधार एम्बुलेन्स एकअर्काका परिपूरक बनेका छन्। कल सेन्टर सेवा पनि पहिलो कार्यपालिका बैठकको निर्णयकै आधारमा लागू गरिएको हो।