काठमाडौं ३० जेठ । संसदले कृषिमन्त्री महेन्द्र राय यादवलाई किसानलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दर्ता गरेको अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमाथिको छलफल पछि सभामुख सापकोटाले सरकारलाई सबे उपाय लगाएर किशानलाई समयमै मल उपलब्भ गराउन निर्देशन दिएको हो ।
कृषिमन्त्री यादवले सदनमा उठेका प्रश्नको जवाफ दिँदै नेपालमा ठेक्का प्रणालीबाट मल ल्याउन सम्भव नभएको बताएका थिए । मन्त्रीको जवाफपछि सांसद र सरकारको समान धारणा रहेको भन्दै सम्भाव्य सबै उपाय लगाएर किसानलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिने सभामुखको प्रस्ताव प्रस्ताव सदनले सर्वसम्मत पारित गरेको हो ।
प्रस्तावमा सभामुखले भनेका थिए, ‘रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालिका रूपमा रहेको धान बाली लगाउने समयमासमेत रासायनिक मल उपलब्ध नभएका विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्यसम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’।