काठमाडौं ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा दिन आग्रह गरिएको बुझिएको छ ।
माओवादीबाटै अर्थमन्त्री बनेका शर्माले जेठ १४ गते मध्यराति पूर्वनासुलाई बोलाएर करबारे हेरफेर गर्न लगाएको तथ्य बाहिरिएसँगै शर्मालाई राजीनामा दिन प्रचण्डले आग्रह गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्डले आइतबार शर्मालाई आफ्नै निजी निवास खुमलटार बोलाएका थिए । करिब डेढ घण्टा लामो भएको छलफलमा शर्मालाई राजीनामा दिन आग्रह गरेको बुझिएको हो ।
आगामी आर्थिक वर्षको लागि बजेट निर्माण गर्दा अर्थमन्त्री शर्माले अमुक व्यक्तिको प्रवेश गराएको खबर बाहिर आएपछि प्रचण्डले त्यसबारे जानकारी लिँदै गल्ती भएको बताएका थिए भने यता शर्माले पनि आफूबाट गल्ती भएको स्वीकार गरेका थिए ।