काठमाडौं । राजधानी काठमाडौँलाई व्यबस्थित बनाउन मेयर बालेन शाहले ल्याएको सार्वजनिक शौचालय बढाउने अभियानमा सबैले चासो देखाउँदै सहयोग गरिरहेका छन् ।
यसैबिच नविल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउन दिने भएको छ । बैँकले आज काठमाडौं महानगरपालिकासँग सम्झौता गर्दै सो घोषणा गर्दै सबै शौचालयको दायित्व बैंक स्वयम्ले बहन गर्ने उल्लेख गरेको छ ।
महानगरको नगरकार्यपालिका बैठकले गत जेठ १६ गते काठमाडौंभित्रको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा रहेका शौचालयहरूलाई सर्वजनिक प्रयोगमा ल्याउने निर्णय गरेसँगै अहिले काठाडौँलाई स्वच्छ र सफा बनाउने अभियान अन्र्तगत बैँकहरुमध्ये पहिलो सम्झौता नविलले गरेको हो ।
सम्झौतामा काठमाडौंमा नविल बैंकको स्वामित्व र भोगाधिकार भएका १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने र सेवाग्राहीसँग कुनै शुल्क पनि नलिने बैँकले जनाएको छ ।
शौचालयमा आवश्यक सरसफाइको जिम्मेवारी आँफै लिने भन्दै बैँकले शौचालय भएका भवनमा प्रष्ट देखिने गरी सूचना बोर्ड राख्ने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता पाँच वर्षका लागि गरिएको हो ।