काठमाडौं २४ जेठ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर प्लेट राख्नका लागि सर्वसाधरण बसेको लाइनमा गएर बस्न चुनौती दिएका छन् ।
मंगलबार संसदमा शहरी विकास मन्त्रालयको बजेटमाथि भएको छलफलमा बोल्दै सांसद थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न मन्त्री यादवलाई चुनौती दिएका हुन् ।
असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन समेत आग्रह गरेका थापालेधेरै नागरिकलाई दुख दिन नमिल्ने बताए । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव भएको यो निणर्य फिर्ता लिन आग्रह गरे ।
‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ,यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन ।