काठमाडौं २३ जेठ । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद चौधरीले यौन हिंसाविरुद्धको कानुनबारे विधेयक आएको बताउँदै सबै पुरुष दोषी हुन्छन् भन्ने दृष्टिकोण राख्न नहुने स्पष्ट पारेकी छन् ।
‘हामी दुईवटा जाति मात्रै छौँ, महिला र पुरुष। तर एउटा व्यक्ति र वर्गका लागि मात्रै कानुन बनाउने होइन,सबै नागरिकको लागि कानुन चाहिन्छ। महिलाको भावना मात्रै होइन, पुरुषको भावना हेरेर कानुन बनाउनुपर्छ।’ उनले थपिन् ।
पल शाह र सुस्मिताको प्रकरणमा मन मिल्दा लभ तर मन नमिलेपछि बलात्काररु भन्दै संसदमा आक्रोश पोखेकी उनले भनिन्, ‘हाम्रै पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको घटनामा पनि स्वार्थ मिलुञ्जेल कसैलाई मतलव भएन। स्वार्थ नमिलेपछि बलात्कार अभियोगमा महरालाई ६ महिना जेल कोचियो। ‘
आफु एक महिला भएपनि पुरुष पनि पीडित हुने भएकाले उनीहरुको लागि पनि सम्बोधन हुने भन्दै उनले पुरुषको पीडाको सन्दर्भमा पनि कानुनले हेर्नुपर्ने बताएकी छन् ।
साथै, उनले २० वर्षमा बिहे गर्ने नियम पनि हटाउन माग गरेकी छन् । ‘कानुन व्यवहारिक हुनुपर्छ। कसैलाई दुस्ख दिने कानुन बनाउनु हुँदैन।’उनले भनिन् ।