नेपालगञ्ज:
बाँकेको नेपालगञ्ज–१ धम्बोझीमा सञ्चालनमा रहेको सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको अधिक चापका कारण विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनु परेको विद्यालय प्रशासनले जनाएको छ ।
प्राविधिक धारको कक्षा ९–१२ को कम्प्युटर इन्जिनियरिङ कक्षासमेत सञ्चालन गर्दै आएको धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाको लागि प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिए ।
विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको विद्यालयका प्रधानाध्यापक सुवेदीले बताए । विद्यार्थीको चाप अनुसारको कक्षा कोठासँगै बस्ने डेस्क बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको उनको भनाई छ ।
‘विद्यार्थी चाप अनुसारको शिक्षक दरबन्दी, कक्षा कोठा, फर्निचर अभावका कारण विद्यालयमा भर्ना हुनआउने सबै विद्यार्थीलाई भर्ना गर्ने अवस्था छैन । अभिभावक आफ्ना बालबालिकाले किन भर्ना हुन नपाउने भनेर वादविवादमा उत्रने पनि गर्नुहुन्छ विद्यालयको भौतिकपूर्वाधारको कमी र अन्य समस्याले गर्दा भर्ना लिन नसकेको भन्दै फर्काउँदा हामी पनि दुखी छौं,’ उनले भने ।
सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र तिनका अभिभावकलाई भर्ना गर्नको लागि ठाउँ छैन भनेर फर्काउनु पर्दा आफैलाई नमज्जा लाग्ने तर, विद्यालयमा भौतिक पूर्वाधारको कमीको कारण फर्काउन पर्ने आफूहरूको बाध्यता रहेको उनले बताए । विद्यालयले थप भर्ना लिनलाई रोक लगाएको छ ।
विद्यालयमा प्राविधिक धारको कम्प्युटर इन्जिनियरिङ्ग सञ्चालन गरेको छ । कक्षा ९–१२ को लागि विद्यालयले प्राविधिक धारको कक्षा ९ बाटै ४८ सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गर्ने गरिएको छ । सो का लागि शनिबार लिएको प्रवेश परीक्षामा ७३ जना विद्यार्थीले सहभागिता जनाएको विद्यालयका सहायक प्रधानाध्यापक पूर्णबहादुर शाहीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनको लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको जानकारी दिए । उनले विद्यालयको भौतिक संरचना खासगरी कक्षा कोठा र फर्निचरको अभावको कारण सबै विद्यार्थीलाई अर्नालिन असहज भएको बताए ।
नेपालगञ्जको धम्बोझीमा रहेको धम्बोझी माविमा बालविकास केन्द्रदेखि १२ सम्म २ हजार ७ सय ३७ विद्यार्थी चालु शैक्षिक सत्रका लागि भर्ना भएका छन् । विद्यालयले दिएको जानकारी अनुसार बालविकास केन्द्रमा १ सय ११, कक्षा १ मा १ सय २३, कक्षा २ मा १ सय १४, कक्षा ३ मा १ सय १२, कक्षा ४ मा १ सय ४५, कक्षा ५ मा १ सय ३१, कक्षा ६ मा १ सय ८९, कक्षा ७ मा २ सय ३७, कक्षा ८ मा २ सय ८, कक्षा ९ मा २ सय ७३, कक्षा १०मा २ सय ३८, कक्ष ११ मा ४ सय ८० कक्षा १२ मा ३ सय ७६ जना भर्ना भएका छन् ।
नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरूमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकोले विद्यालय दुई सिफ्टमा सञ्चालन गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्याय बताउँछन् । उनले विद्यालयको शिक्षक दरबन्दी, कक्षा कोठा र फर्निचर थप हुन सके थप विद्यार्थी भर्ना लिन सकिने बताए ।