काठमाडौँ १ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाकार सूर्य थापा र नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । प्रवक्ता श्रेष्ठले निवार्चन आयोगलाई सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको आरोप लगाउँदा यता थापाले श्रेष्ठलाई अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के–के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि ? भन्दै प्रश्न गरेका छन् ।
यता श्रेष्ठले भने, संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य भएको भन्दै जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको जनाएका छन् । पार्टी फरक भएपनि सुझाव दिन उपयुक्त सम्झेको भन्दै थापाले समयमै लिखित रूपमा फैसला लेखेर उपलब्ध गराए निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने नपर्ने बताएका छन् ।
थापाले श्रेष्ठलाई जवाफ फर्काउँदै भनेका छन्, ‘अदालत, निर्वाचन आयोग लगायत संवैधानिक आयोगहरूलाई के–के गराउनुपर्ने हो, समयमै लिखितरूपमा फैसला लेखेर उपलब्ध गराउने हो कि रु अनि निर्णयपछि यसरी भर्त्सना गर्ने कष्ट गर्नुपर्ने थिएन । पार्टी त फरक परिहाल्यो, एउटा सुझावसम्म दिनु उपयुक्त सम्झें ।’
प्रवक्ता श्रेष्ठले लेखेका थिए, ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । राजनीतिक पार्टीहरूले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ । लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्छ ।’