म्याग्दी, २० जेठ-बाटो बनेकोे २७ वर्षपछि बागलुङ–बेनी सडक कालोपत्र हुन लागेको छ । बागलुङ–बेनी, म्याग्दी र मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक हो । करिब २० किलोमिटर दूरीको यो सडक विसं २०५२ मा मार्ग खुलेको थियो । बागलुङदेखि दश वर्षअघि सडक कालोपत्र गर्न थालिएको थियो । बागलुङदेखि बेनीसम्मको सबै खण्डमा सडक कालोपत्र गर्ने कामले यसपालि पूर्णता पाउन लागेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बागलुङ–बेनी सडकको अन्तिम खबरा–बेनी खण्ड कालोपत्र सकिन लागेको जानकारी दिनुभयो ।
“बागलुङदेखि रत्नेचौरको भुवानेसम्म सडक डिभिजनले यसअघिनै कालोपत्र गरेको थियो”, उहाँले भन्नुभयो, “सडकले पूर्वाधारलाई हस्तान्तरण गरेको भुवानेदेखि खबरा हुलाकेसम्मको तीन किलोमिटर ८०० मिटर र पूर्वाधारले ठेक्का लगाएको खबरा–बेनी एक किलोमिटर २०० मिटर सडक कालोपत्र यही आवभित्र सक्ने लक्ष्यसहित काम भइरहेको छ ।”
९२ प्रतिशत भौतिक प्रगति भएको भुवाने–खबरा खण्डलाई पूर्णता दिन निर्माण व्यवसायी दुई वर्षपछि काममा फर्किएका छन् । खबरा–बेनी खण्डको अधिकांश ठाउँमा विस्तार, नाली र पर्खाल निर्माण गरेर कालोपत्र तथा ढलानलाई तीव्रता दिइएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।
सडक कालोपत्र भएपछि आवतजावत सहज, यात्राअवधि छोटिएको र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । कच्ची, साँघुरो र ग्रेड तथा घुम्ती नमिलेको सडकलाई फराकिलो बनाएर पहिरो रोकथामका लागि पहिरो र भलबाढी व्यवस्थापन गर्न नाली बनाइएको खबरा–बेनी खण्डको ठेकेदार बिरुवा–सिमरन जेभीका प्रतिनिधि प्रदीप सापकोटाले बताउनुभयो ।
सो कम्पनीले विसं २०७७ साउनमा करसहित रु पाँच करोड ४३ करोड ३७ हजार ५९९ मा ठेक्का सम्झौता गरेको थियो । २०७८ असार ३० गतेभित्र भएको सम्झौतालाई आगामी असारसम्म थप गरिएको छ । रत्नेचौरदेखि खबरासम्मको सडक कालोपत्रे नसकिँदै लकडाउन (बन्दाबन्दी) भएर विसं २०७६ चैत महिनादेखि रोकिएको थियो ।
रु १३ करोड १५ लाखमा ठेक्का लिएको नागार्जुन देव एण्ड सायर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले पहिरोले क्षति पुगेको कामको भेरिएयर अर्डर स्वीकृत भएपछि बाँकी काम असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेको बताउनुभयो । विसं २०७६ माघमा सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रविधिको कालोपत्रे बिछ्याइएको थियो । कोरोना (भाइरस)को महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन । बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरिएको र कालोपत्र उप्किएको छ । पहिरो पन्छाउने र मर्मतसँगै दोस्रो चरणको कालोपत्र गर्न उपकरण र निर्माण सामग्री जुटाएको प्रतिनिधि जिसीले बताउनुभयो । (रासस)