काठमाडौं १८ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिल्ने भन्ने डरले छिटो चुनाव गर्न तिर लागेको बताएका छन् ।
सङ्घ र प्रदेशको चुनावमा ओली र प्रचण्डले सहकार्य गरेर जाने डरले देउवा चुनाव छिटो सम्पन्न गराउने पक्षमा रहेको दावी गरेका हुन् ।
‘शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा हुनुहुन्छ, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने उहाँको योजना छ । किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाले भने चुनाव जितिँदैन भन्ने डरले देउवा चुनाव ढिला गर्नु नहुने पक्षमा हुनुहुन्छ । ’ गजुरेलले भनेका छन् ।
बुधबार पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा काठमाडौंको माइतिघरमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका गजुरेलले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आउँदो वर्षको बजेट ल्याएको समेत आरोप लगाएका छन् ।
चुनाव जित्नकै लागि सरकारले कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि दावी गरेका उनले कर्मचारीको तलब वृद्धि गरेर सरकार घुस दिएको बताएका छन् ।