काठमाडौं १८ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ /८० को बजेटअनुदान लक्षित नभएको बताएका छन् । बुधवार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आ िर्थक वर्षको बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शर्माले यस्तो बताएका हुन् ।
बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने सवालहरु आएको बताएका शर्माले भने, ‘यहाँ कतै पैसा बाँड्ने काम छैन । अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला । प्रोत्साहन छ । किसानले दुध दुह्यो, त्यसले प्रोत्साहन पायो । दुध दुहेको बेला सरकारले भोट कसलाई दियो सोध्दैन, दुध दुह्यो कि दुहेन यति सोध्छ ।’
शर्माले जवाफ दिने क्रममा प्रतिपक्ष दलले इन्डक्शन चुल्हो बाँडेर भोट साट्न खोजेको आरोप लगाएको प्रति खण्डन गर्दै चुलोमा राजनीति नगरेको र नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसैअनुसारका संरचनामा बजेटले जोड दिएको स्पष्ट पारेका छन् ।
शर्माले भने ‘इण्डक्शन चुलो निर्वाचनसँग सम्बन्धित छैन । प्रतिपक्ष दललाई पनि सँगै लगेर बाँड्ने कार्यक्रम बनाउन सकिन्छ । सँगै लैजाउँला, चिन्ता गर्नुपर्दैन ।’
सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरूलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्नेमा जोड दिएका शर्माले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्ने बताएका छन् ।
‘पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध, सहीको पनि विरोध, गलतको पनि समर्थन गर्ने मान्यताबाट हामी मुक्त हुनुपर्छ । बजेटमा त्रुटि पक्कै पनि होलान् । म शतप्रतिशत सबै कुरा सही छ भनेर भन्दिन । तर के असल पक्ष छैन ? यो अहिलेको देशको आवश्यक्ता हो कि होइन ? देश ठूलो सङ्कटमा छ, यो सङ्कटलाई बजेटले समाधान गर्दैन भन्ने प्रश्न उठिरहेको छ तर योभन्दा अर्को समाधान छैन ।’उनले भने ।