काठमाडौं १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएको जिकिर गरेका छन् ।
जनताले धरान र काठमाडौंका स्वतन्त्र उम्मेदवारलाई जिताएर माओवादीलाई सवक सिकाएको बताएका प्रचण्डले पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य अझै मुलुकमा नचल्ने बताएका छन् ।
बुधबार स्थानीय तहमा निर्वाचित पार्टीका नेताहरुको लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्र्दैै अध्यक्ष प्रचण्डले अझै कयौ दशकसम्म पार्टीले नै राज्य सञ्चालन गर्ने बताएका छन् ।
स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ नभएको बताएका प्रचण्डले काठमाडौं र धरानमा जित्नेले आफ्नो पार्टीको जस्तो कुरा गरेको भन्दै प्रचण्डले भने , ‘हिजो हामीले जनताको सेवा गर्ने, धारो, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सबै सिध्याउँछौँ भनेर भनेको होइन ? हामीले राम्रोसँग नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर हामीलाई पाठ सिकाएको जस्तो लाग्छ मलाई । तर स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो ।’
माओवादी केन्द्रलाई हल्का रूपमा नलिन समेत प्रचण्डले चेतावनी दिएका छन् ।