काठमाडौं १८ जेठ । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वृद्ध भत्ता पार्टीको ब्राण्ड भएको बताएका छन् । बुधबार बजेटमाथिको राजश्व र व्ययको वार्षिक अनुमान को विषयमा छलफलमा सहभागी भएका नेता पाण्डेले यस्तो बताएका हुन् ।
उनले भने,‘वृद्धभत्ता जतिसुकै कुरा गरे पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’
नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको बताएका उनले गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको जनाएका छन् ।
‘चुनावपछि यी सबै कसले हात समातेका छन् । कसले खुट्टा समातेका छन् । ती सबै त्यहाँबाट छुट्टिएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’उनले भने ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति आपत्ती जनाएका उनले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताएका छन् ।