काठमाडौं १७ जेठ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएर ६८ वर्ष पुर्याएकोमा आपत्ती जनाएकी छन् ।
आज मङ्गलवारदेखि आइतबार जारी गरिएको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलका क्रममा सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभामा बोल्दै पौडेलले यस्तो आपत्ती जनाएकी हुन् ।
देश आर्थिक सङ्कटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने काम गरेको टिप्पणी गरेकी उनले भनिन्, ‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन ।’
अब शिर्ष नेताहरु ६८ वर्ष भइसकेकाले भत्ता लिएर सबैले काम गर्न छोडेर भत्ता खाएर बस्न भनेकी उनले भनिन्,’अहिले जुन काम गर्न नसक्ने भनेर ६८ राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्ति नै पुगिसक्नुभएछ ६८ त । अरू शीर्ष नेताहरू सबै ६८ वर्ष पुगिसक्नुभएको छ ।’
‘उहाँहरू सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस्, काम गर्न सक्नुहुन्न भने । पाँच महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ? बरु सामाजिक सुरक्षाको अन्य दायरा बढाउनु पर्छ । राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा एकदम राम्रो गरिरहेको छ, यसको बजेट घटाइएको छ, यसलाई विस्तार गर्नुपर्छ ।’