काठमाडौं १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी खारेज भएको हो भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् ।
आज मंगलबारबाट सुरु भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटसम्बन्धी छलफलमा नेता श्रेष्ठले अमेरिकाले एमसीसीमाथि १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
‘लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने भनिएको छ, यो पहिला भनेजस्तै एमसीसीको योजना हो कि, आफैंले बनाउने भनेको हो ? त्यो प्रष्ट भएन ।’ उनले जवाफ मागेका छन् ।
‘अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैंले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ,’ नेता श्रेष्ठले भने ।