धरान १० जेठ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङगले पदभार ग्रहण गरेको भोलिपल्टै कर सम्बन्धी व्यवस्थाहरुलाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन गरेका छन् ।
करको दायरा बढाउन, आन्तरिक राजश्व बढाउन तथा करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न कार्यदल गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खतिवडा जनाएका छन् ।
गठन गरिएको कार्यदलमा भनिएको छ, ‘नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको सूची भित्रका कार्यहरु सञ्चालन गर्न स्थानीय तहलाई सुम्पिएका कर तथा गैर कर राजश्वका स्रोतहरुको पहिचान दरहरुको निर्धारण, करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ ।’
उक्त कार्यदलमासंयोजकमा नगर उपप्रमुख, सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि रहेका छन् ।