जनकपुरधाम-जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी र उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साह विजयी हुनुभएको छ । अहिले केही बेरअघि सार्वजनिक अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार साह झन्डै चार हजारको मतान्तरले निर्वाचित हुनुभएको हो । नगरप्रमुखमा निर्वाचित साहले १३ हजार ४६५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवशंकर साह (हिरा) ले नौ हजार ५३२ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
यस्तै लोसपाका मनोज चौधरीले पाँच हजार ३६० मत ल्याउँदा निवर्तमान नगरप्रमुख तथा पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले पाँच हजार १९४ मत ल्याउनुभयो ।यसैगरी उपप्रमुखमा कांग्रेसका किशोरी साह १५ हजार ५२५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुना झाले १० हजार ८८५ मत ल्याउनुभयो ।यस्तै निवर्तमान उपप्रमुख रिताकुमारी मिश्रले पाँच हजार ८१७ मत मत ल्याउनुभयो । योसँगै धनुषाको १८ वटै पालिकाको मतगणना सकिएको छ ।