काठमाडौं ९ जेठ । काठमाडौं महानगरपालिकाका गठवन्धनको तर्फबाट उपमेयरमा उम्मेदवार दिएका नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले मतगणना दोहोर्याउन माग गरेका छन् ।
उनले आज सोमबार नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न भन्दै मतगणना दोहोर्याउन माग निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
श्रेष्ठले निर्वाचन अधिकृतको कायार्यलमा दिइएको निवेदनमा भनिएको छ ,
‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई समेत बदरगरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ । ‘
उपमेयर पदमा ठूलो संख्यामा भएका मत बदरलाई लिएर अशन्तुष्ट देखिएका श्रेष्ठले निवेदनमा भनेका छन्, ‘तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७,१९,२२,२४ र २६ को भावना र मनशाय अनुसार हुनेगरी प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुन दोहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान९मतगणना० अधिकृतलाई आदेश गरिपाऊँ।’
जारी मतगणना अनुसार एमालकी उम्मेदवार सुनिता डंगोलले ४४ हजार ७०५ मत पाएकी छन् भने श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् । बदर भएका मध्ये ५० प्रतिशत मतसंकेत गर्दा रुख र कलम दुबैमा छाप लगाइएको मतपत्र भएको बताएका उनले त्यसलाई आफ्नो मत मान्नुपर्ने उनले बताएका छन् ।