७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ? — OSNepal

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

LC (KTM) May 23, 2022 0

काठमाडौं, ९ जेठ :

निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३२० पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये ६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

एमालेका उम्मेदवारले हालसम्म १९९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका छन् । मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

माओवादी केन्द्रका उम्मेदवार १२० पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये २ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

जसपाले हालसम्म २९ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ३ वटाको प्रमुख तथा अध्यक्षमा जसपाका उम्मेदवारको अग्रता रहेको छ ।

एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये २ वटा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहेका छन् ।

लोसपाका उम्मेदवारले १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना भइरहेका पालिकामध्ये एउटामा लोसपाको अग्रता रहेको छ ।
आयोगका अनुसार अन्य दल र स्वतन्त्र उम्मेदवार २९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भइसकेका छन् । मतगणना भइरहेकोमध्ये एउटा पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर