काठमाडौं, ९ जेठ :
नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।
निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।
त्यस्तै सर्लाहीमा एमालेलाई एक पालिका-सर्लाही, ९ जेठ-सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी हुन् । कटुवालकोे जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पाएको छ । जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले ५ हजार ६०७ मतान्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् ।
मेयरमा निर्वाचित कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाए र पराजित हुन पुगे । निर्वाचित कटुवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा महतोसँगै पराजित भएकी थिइन् ।
उपमेयरमा पनि एमालेका उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले २ हजार ७८४ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई पराजित गरे । उपप्रमुखमा निर्वाचित साहले ९ हजार ९०१ मत प्राप्त गर्दा निकटतम दाहालले ७ हजार ११९ मतमात्र प्राप्त गरिन् ।
यस्तै बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक÷एक जना विजयी भएका छन् ।
योसँगै जिल्लामा नेपाली कांग्रेसले १२ पालिकामा विजयी भएको छ । माओवादी केन्द्र ४ पालिकामा र जनता समाजवादी दुई पालिकामा र लोकतान्त्रिक समाजवादी र नेकपा एमाले एकरएक पालिकामा विजयी भएका हुन् ।