कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले अन्तिम समयमा आएर टिकट खोसेका प्रल्हाद कुमार खत्री अन्ततः महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । मनोनयन दर्ता गराउने दिन उनको टिकट अप्रत्याशित रुपमा देउवा आफैले खोसेका थिए । मनोनयन दर्ता गर्ने दिन निर्वाचन अधिकृतको कार्यालयमा देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए ।
दुई जना नै उम्मेद्धारी दिन पुगे पछि निर्वाचन अधिकृतको कार्यालय दोधारमा परेको थियो । तर कार्यालय लाई सभापति देउवाले औपचारिक रुपमै पत्र पठाउँदै चिरञ्जिवी हमाल आधिकारिक उम्मेदवार भएको पत्र पठाए । आयोगले हमाललाई आधिकारीक उम्मेद्धार भनेर मनोनय दर्ता गरायो । त्यसपछि रुष्ट बनेका खत्रीले प्यानल नै बनाएर चुनावी मैदानमा स्वतन्त्र रुपमा होमिए । उनले उपमेयरमा तारा देवी सहित आफ्नो प्यानल लाई उम्मेदवार बनाएर अघि सारे ।
अन्ततः उनकै प्यानलले चुनावमा बाजी समेत मार्न सफल भयो । क्षेत्रीले १४ हजार २१० मत ल्याउँदा उनका निकट्तम प्रतिद्धन्दी कांग्रेसका चिरञ्जिवी हालले १ हजार २६३ मत ल्याए । उनकै प्यानलकी उपमेयर तारा देबीले ९ हजार ७३६ मत ल्याएर निर्वाचित भईन् । उनको निकट्तम प्रतिष्पर्धी कांग्रेसकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १ हजार ७५८ मत मात्र प्राप्त गरिन् । खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भएका छन् ।