विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता बढाउँदै लगेको छ । प्रमुख पदका लागि कांग्रेसका उम्मेद्धार नागेश कोइरालाले एमालेका उम्मेद्धार सागर थापा संगको मतान्तर बढाउँदै लगेका हुन् । कोइरालालाई १५ हजार २ सय १३ मत प्राप्त हुँदा एमालेका थापाले ११ हजार ४ सय २८ मत ल्याएका छन् । थापा संग कांग्रेसका कोईरालाको मतान्तर ३ हजार ७ सय ८५ पुगेको छ । यस्तै राप्रपाका उम्मेदवार प्रह्लाद प्रसाद साहको ३ हजार ५२ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ४ हजार ७ सय २८ मत रहेको छ ।
उता उपप्रमुखमा भने एमालेले फराकिलो मतअन्तर कायम गरेको छ । एमालेकी शिल्पा कार्कीले गठबन्धनका उम्मेदवार अमरेन्द्र यादव भन्दा ५ हजारभन्दा बढी मतले अग्रता कायम गरेकी हुन् । उनको मत हालसम्म १३ हजार ८० रहेको छ भने गठबन्धनका उम्मेदवार यादवको मत ७ हजार ८ सय ५६ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ३ हजार ७ सय २२ रहेको छ ।