काठमाडौं ४ जेठ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको सुरु वाती मत परिणाम अनुसार आफ्नो पार्टीको उत्साहजनक रुपमा अगाडी बढेको बताएका छन् ।
पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरू मिलाउन नसकिएकाले अझ राम्रो हुन नसकेको स्पष्ट पारेका उनले सद् भवन परिसरमा न्यूज एजेन्सी नेपालसँगका कुारकानीमा यस्तो बताएका हुन् ।
हामीले कतिपय स्थानमा उम्मेदवारहरू मिलाउने, आन्तरिक मतभेदहरू मिलाउन नसकेको बताएका उनले भने , ‘धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । तर आज हामी निर्णायक शक्ति हौँ । हामी स्थापित शक्ति हौँ । हाम्रो एजेण्डा देशमा स्थापित छ । त्यो एजेण्डा जनताले रुचाएको छ भन्ने कुरा पुष्टि भएको छ । अपेक्षा यो भन्दा अझ राम्रो थियो । तर हाम्रो कतिपय ठाउँमा उम्मेदवारहरू मिलाउने, आन्तरिक मतभेदहरू मिलाउनेमा हामी सकेनौँ । नत्र यो भन्दा राम्रो हुन्थ्यो ।’
प्रतिगमनको विरुद्ध, लोकतन्त्र रक्षाको लागि, संविधानको रक्षाको लागि, देशलाई राजनीतिक स्थायित्वका लागि गरिएको गठबन्धन गरेको उनले बताएका छन् । पार्टीको जित वा हारको कारण गठबन्धनलाई मात्रै मान्न नसकिने पनि बताएका छन् ।