झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाले बाजी मारेको छ । यो सहित स्थानीय तहको निर्वाचनमा राप्रपाले २ ठाउँमा जित हाँसिल गरेको छ । हल्दिबारीको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राजेन्द्र लिङ्देनका भाई रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् ।लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याए ।
त्यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले एक हजार १४९ मत मात्र ल्याए । उपाध्यक्षकी उम्मेदवार मैनालीले पाँच हजार ७८ ल्याउँदै निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत पाइन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका रहेको हल्दिबारीमा राप्रपाले २ वटा वडामा पनि जित हाँसिल गरेको छ ।