सुर्खेत, ३ जेठ :
सुर्खेतकाे बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् ।बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् ।
बस्नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएकाे निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।
त्यस्तै रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ ।अध्यक्षमा कांग्रेसका जनककुमार बाँठा ३१ मतान्तरले विजयी भएका छन् । उनी ४ हजार ४ सय ५५ मतसहित विजयी हुँदा माओवादी केन्द्रका चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत पाए ।
उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसीले ४ सय मतान्तरले विजयी भएकी छन् । केसी ४ हजार ५ सय ६० मतसहित विजयी हुँदा कांग्रेसकी नन्दाकुमारी केसी नाथले ४ हजार १ सय ६० मत पाइन् । बाँफिकोटका १० वडामध्ये माओवादीले ८ वडा जितेको छ भने कांग्रेसले २ वडामा जित हात पारेको छ ।याे अर्थमन्त्री जनार्दन शर्माकाे निर्वाचन क्षेत्र पनि हाे ।