अश्विन दानी/ गोरखा, १ वैशाख
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन । मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेसँग मात्रै छलफल गरेको भन्दै एमालेले बिरोध गरेपछि मतगणना सुरु हुन नसकेको हो ।
‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भन्ने थियो । तर, बैठक बस्नु अघि अधिकृतले एमालेलाई छाडेर कांग्रेस, माओवादीसँग मात्रै छलफलमा बसे । अनि हामीले बिरोध गयौँ । त्यसपछि सर्वदलीय बैठकपनि बस्न सकेको छैन’, एमालेका पालिका अध्यक्ष सुक बहादुर गुरुङले भने ।
आज साँझ करिब ८ बजेदेखि गाउँपालिकाको केन्द्र फिलिममा मतगणना सुरु गर्ने तयारी थियो । तर, सात बजेतीर अधिकृत नानीबाबु पोखरेलले एमालेलाई वाहेस गरेर छलफलमा बसेको भन्दै बिरोध सुरु भएको छ ।
निर्वाचन अधिकृत नानीबाबु पोखरेल भने एमालेका प्रतिनिधीको बुझाई गलत भएको बताउँछन् ।
उनले भने, ‘सर्वदलीय बैठकबस्नु अघि अर्कै बिषयमा दुई दलहरुसँग छलफल गरेका थियौँ । उहाँहरुको बुझाई गलत भयो । सर्वदलीय बैठकमा सबै दलहरुलाई बोलाईन्छ’, अधिकृत पोखरेलले भने ।
अहिले प्राबिधिक कुराहरु मिलाईरहेको बताउँदै सबै ब्यबस्थापन सकेपछि मतगणना सुरु गर्ने उनले बताए । भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको छ ।